बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितो कर्जा प्रवाह बढाएका छन् । चालू आर्थिक वर्षको सुरुदेखि नै सेयर बजार उकालो लाग्न थालेपछि बैंकहरुले पनि मार्जिन लोन बढाएका हुन् ।राष्ट्र बैंकका अनुसार साउन महिनासम्ममा सञ्चालनमा ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन लेन्डिङ शीर्षकमा ९१ अर्ब ४४ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यस अवधिमा बैंकिङ क्षेत्रको कुल निक्षेप ६४ खर्ब ४६ अर्ब ८२ करोड ६० लाख रुपैयाँ र कर्जा प्रवाह ५१ खर्ब ६५ करोड १३ लाख ४० हजार रुपैयाँ छ । बैंक तथा वित्तीय संस्थाले गत वर्ष साउन महिनाको तुलनामा १४ अर्ब तीन करोड रुपैयाँ बढी मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेका छन् ।
गत वर्ष साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५६ खर्ब ११ अर्ब ५९ करोड ६० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४८ खर्ब ५७ अर्ब १३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसमा मार्जिन प्रकृतिको कर्जा ७६ अर्ब ४१ करोड ३० लाख रुपैयाँ थियो ।वाणिज्य बैंकहरुले गत साउनमा मात्र ५७ खर्ब १८ अर्ब १८ करोड ७० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४५ खर्ब ६५ अर्ब ३३ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये मार्जिन प्रकृतिको कर्जा ७१ अर्ब ६९ करोड ३० लाख रुपैयाँ छ ।
जुन कर्जा गत आर्थिक वर्षको साउन महिनाको तुलनामा १२ अर्ब ७९ करोड १० लाख रुपैयाँ बढी हो । गत वर्ष साउनसम्म वाणिज्य बैंकहरुले ४९ खर्ब ३९ अर्ब ३२ करोड ८० लाख रुपैैयाँ निक्षेप सङ्कलन गरी ४२ खर्ब ९४ करोड ७५ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमा मार्जिन प्रकृतिको कर्जा ५८ अर्ब ९० करोड २० लाख रुपैयाँ थियो ।
विकास बैंकहरुले चालू आर्थिक वर्षको पहिलो महिना साउनसम्म कुल पाँच खर्ब ९८ अर्ब ७४ करोड ७० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी चार खर्ब ९९ अर्ब ४९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमा मार्जिन प्रकृतिको कर्जा १५ अर्ब ६८ करोड २० लाख रुपैयाँ छ । जुन गत वर्ष साउनसम्मको तुलनामा एक अर्ब ८२ करोड ५० लाख रुपैयाँ बढी हो । गतवर्ष साउनसम्म विकास बैंकहरुले पाँच खर्ब ६१ अर्ब ५९ करोड रुपैयाँ निक्षेप सङकलन गरी चार खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमध्ये मार्जिन प्रकृतिको कर्जा १३ अर्ब ८५ करोड ७० लाख रुपैयाँ थियो ।
फाइनान्स कम्पनीहरुले भने चालू आर्थिक वर्षको पहिलो एक महिनासम्म एक खर्ब २९ अर्ब ८९ करोड ३० लाख रुपैयाँ निक्ष्ोप सङ्कलन गरी एक खर्ब २९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये मार्जिन प्रकृतिको कर्जा चार अर्ब छ करोड ८० लाख रुपैयाँ छ । जुन गतवर्ष साउन महिनाको तुलनामा ४१ करोड ३० लाख रुपैयाँ बढी हो । गत वर्ष साउनसम्म फाइनान्स कम्पनीहरुले कुल एक खर्ब १० अर्ब ६७ करोड ८० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ९२ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने मार्जिन लेन्डिङ शीर्षकमा तीन अर्ब ६५ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।