काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान ८ः३३ बजे देवी बिसर्जनको साइत रहेको समितिले विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्नेछ ।
यस वर्षको नवरात्र अर्थात् दशैँ यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ । त्यस दिन बिहान ९ः१६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ । साथै असोज १८ गते शुक्रबार झण्डा फर्ने (पश्चिम मोहडा) ९ः१४ बजे, असोज २२ गते मङ्गलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ । असोज ३० गते बुधबार अखिलबलीपूर्ति गर्नुपर्नेछ । त्यसै दिन कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको दशैँ समापन हुनेछ ।