रमल्लाह । वैश्विक समाचार च्यानल अल जजिराले आइतबार कब्जा गरिएको वेस्ट बैंकको रामल्लाहमा रहेको आफ्नो कार्यालयमा सशस्त्र र मास्क लगाएको इजरायली सेनाले छापा मारेको र ४५ दिनका लागि बन्द गर्ने आदेश जारी गरेको बताएको छ ।
अरब प्रसारक अल जजिरा र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारबीच लामो समयदेखि चलिरहेको झगडाको यो पछिल्लो घटना हो । गाजामा भइरहेको युद्धको समयमा यो अझ बिग्रिएको छ ।
अक्टोबर ७ मा हमास लडाकूहरूले इजरायलमाथि आक्रमण गरेपछि युद्ध सुरु भएयता अल जजिराले इजरायलको अभियानको प्रभावबारे निरन्तर प्रत्यक्ष रिपोर्टिङ गरिरहेको छ । इजरायली सेनाले बारम्बार कतारस्थित नेटवर्कका पत्रकारहरूलाई हमास वा यसको सहयोगी इस्लामिक जिहादसँग सम्बन्ध भएको आरोप लगाउँदै आएको छ ।
अल जजिराले इजरायलका आरोपहरूलाई जोडदार रूपमा अस्वीकार गरेको छ । साथै इजरायलले गाजा पट्टीमा आफ्ना कर्मचारीहरूलाई व्यवस्थितरूपमा लक्षित गर्ने गरेको अल जजिराको भनाइ छ ।