लन्डन, असार १८
विमान निर्माता युरोपेली कम्पनी एयरबसले १५ हजार रोजगारी कटौती गर्ने योजना अघि सारेको छ । बीबीसीका अनुसार कोरोना संकटबाट पर्ने असर न्यूनीकरण गर्न रोजगारी कटौतीको योजना अघि सारिएको हो । विशेषगरी बेलायतमा १ हजार ७ सय र जर्मनी, स्पेन तथा अन्यत्र गरी उक्त संख्यामा रोजगारी कटौती हुनेछ ।
द युनाइट युनियनले भने कम्पनीको कदमको विरोध गरेको छ। एयरबसले विश्वभर १ लाख ३४ हजारलाई रोजगारी दिएको छ । कम्पनीले बेलायतमा व्यावसायिक एयरक्राफ्ट डिभिजनतर्फका रोजगारी कटौती गर्ने छ । बेलायतको ब्रोउटन र ब्राइस्टोल क्षेत्रका कर्मचारीको रोजगारी गुम्ने देखिएको छ । हप्ताको अन्त्यतिर युनियनहरुसँगको कुराकानीपछि मात्रै यसबारे थप कुरा सार्वजनिक हुने बताइएको छ ।
यद्यपि युनाइटले १ हजार १ सय १६ उत्पादनतर्फका र ६ सय ११ कार्यालयीय रोजगारी कटौती हुनसक्ने आँकलन गरेको छ । उक्त संख्यामा कटौती भए एयरबसको १५ प्रतिशत बेलायती कार्यशक्ति गुम्नेछ । रोजगारी कटौतीको योजना कम्पनीले मंगलबार सार्वजनिक गरेको थियो । गत केही महिनायता कम्पनीको उत्पादन ४० प्रतिशतले घटिसकेको छ । सन् २०२३ सम्म कोरोना संकटअघिकै अवस्थामा उत्पादन नहुने आँकलन गरिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी गलाउमे फाउरीले कम्पनीले अहिले यसअघि कहिल्यै नभोगेको संकटको सामना गरिरहेको बताउँदै आवश्यक कदम चालिने उल्लेख गरे । यसैबीच, इजी जेटले पनि बेलायती बेसमा रहेका २ हजार रोजगारी कटौती गर्ने घोषणा गरेको छ । रोयटर्सका अनुसार एयर फ्रान्स/केएलएमले पनि ६५ सय रोजगारी कटौतीको तयारी गरेको छ ।