नेपाल राष्ट्र बैंकले नयाँ उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्ने भएको छ । आर्थिक वर्ष २०८०÷८१ लाई आधार वर्ष मानेर नयाँ उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बुधबार थापाथलीस्थित कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्र बैंकले सातवटा प्रदेशअन्तर्गत रहेका ७७ वटै जिल्लालाई समेटेर नयाँ मूल्य सूचकाङ्क सार्वजनिक गर्न लागिएको जानकारी दिएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालय र त्रिभुवन विश्वविद्यालय समेतको सहकार्यमा राष्ट्र बैंकले ७७ वटा जिल्लाका ८७ वटा बजारलाई सङ्कलन केन्द्र मान्दै यस्तो तथ्याङ्क सार्वजनिक गर्न लागेको हो । यसमा २१ वटा ग्रामीण क्षेत्रबाट र ६६ वटा सहरी क्षेत्रबाट मूल्य सङ्कलन गरिएको राष्ट्र बैंकको भनाइ छ ।
उपभोक्ताको प्रवृत्ति, मूल्य सङ्कलन केन्द्र विस्तार गरी पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यताअनुसार आधार वर्ष परिवर्तन गरिएकोे राष्ट्र बैंकले जनाएको छ ।पहिले प्रयोग नहुने वस्तु अहिले प्रयोग हुने र विगतमा प्रयोग भएका वस्तु अहिले प्रयोग नहुने भएकाले आधार वर्ष परिवर्तन गरिएको गभर्नर महाप्रसाद अधिकारीले बताए । उपभोक्ता मूल्य सूचकाङ्कमा केही तलमाथि हुने गरे पनि आगामी दिनमा सुधार गर्दै लैजाने पनि गभर्नर अधिकारीले बताए । उनले उपभोगको प्रवृति, मूल्य सङ्कलन केन्द्र विस्तार र वस्तुको वास्तविक मूल्य समावेश गरी उपभोक्ता मूल्य सूचकाङ्क निकालिने बताए ।
यसअघि ५० जिल्लाबाट मात्रै मूल्य सङ्कलन गर्ने गरिएकोमा अब ७७ वटै जिल्लाबाट मूल्य सङ्कलन हुनेछ । यसअघि चार सय ९६ वटा वस्तुको मूल्य हेरिएकोमा अहिले बढाएर पाँच सय २५ पु¥याइएको छ । गभर्नर अधिकारीले २९ वटा मात्रै वस्तु बढेको देखिए पनि त्यसमा एक सय ३५ वटा वस्तु नयाँ रहेको बताए । पुरानोबाट एक सय छवटा वस्तुहरु हटाइएको उनले जानकारी दिए । यसरी वस्तु परिवर्तन हुनु उपभोगमा भएको परिवर्तनलाई सम्बोधन गर्न खोज्नु भएको राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थितिको तथ्याङ्कलाई पनि स्पष्ट पार्न अन्तर्राष्ट्रिय मापदण्ड बीपीएम सिक्सअनुसार यस्तो सूचकाङ्क सार्वजनिक गर्न थालिएको हो । राष्ट्र बैंकले एक लाख दुई हजारभन्दा बढी मूल्यको भार अङ्कसहित औसत निकालेर उपभोक्ता मूल्य सूचकाङ्क निकाल्न लागिएको जनाएको छ ।