काठमाडौं । नवलपरासी बर्दघाट सुस्तापूर्वको बर्दघाट २ चिसापानीमा संघीय राजधानीबाहिर पहिलो ट्रमा सेन्टर निर्माण सुरु भएको छ । सेन्टरको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शिलान्यास गरेका हुन् ।
१२ करोड ३४ लाख रुपैयाँ लागतमा संघ सरकारबाट निर्माण सुरु भएको सेन्टर एक बिघा बढी क्षेत्रफलमा बन्नेछ । १५ बेड क्षमताको भवन शिलान्यास गर्दै मन्त्री पौडेलले विशिष्टिकृत सेवाहरू विस्तार गर्ने सोच आफूहरूको रहेको भन्दै प्रदेशस्तरमा रहेका प्रादेशिक अस्पतालहरूबाट संघीय राजधानीमा उपलब्ध सेवाहरू विस्तार गर्ने प्रयास थालिएको बताए । क्यान्सर उपचार सेवा सातै प्रदेशमा भएको उल्लेख गर्दै मन्त्री पौडेलले क्रमैसँग मुटु, मृगौलालगायतका उपचारहरू समेत विस्तार गर्ने लक्ष्य रहेको बताए । साथै, स्वास्थ्य बीमामा सुधार आफूहरूको प्राथमिकतामा रहेको उनले बताए ।
मन्त्री पौडेलले छरिएर हुने स्वास्थ्य क्षेत्रको खर्च एकीकृत गरेर स्रोत समेत थप्ने अवस्थामा हरेक नागरिकलाई पाँच लाख बराबरको स्वास्थ्य बीमा सुविधा दिन सकिने बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित भएसँगै सेन्टर खोल्ने चाहना राखेकामा अघि बढ्न सफल भएको भन्दै सघाउने संघीय सरकारलगायत सबैप्रति आभार प्रकट गरे ।