काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आयात निर्यात अर्थात् ट्रस्ट रिसिट शीर्षकमा झण्डै एक खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना (साउन मसान्त)सम्म वाणिज्य बैंकहरूले आयात निर्यातका लागि ९० अर्ब ६० करोड ९० लाख रुपैयाँ कर्जा दिएका हुन् ।
गत आर्थिक वर्षको साउन महिनाको तुलनामा यस वर्ष साउनमा १३ अर्ब ३२ करोड ६० लाख रुपैयाँ ट्रस्ट रिसिट सुविधा दिएका छन् । गत वर्ष साउनमा आयात निर्यातमा कुल ७७ अर्ब २८ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
२०८१ साउन महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूले ६४ खर्ब ४६ अर्ब ८२ करोड ६० लाख रुपैैयाँ निक्षेप सङ्कलन गरेका छन् भने ५१ खर्ब ६५ अर्ब १३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्ष साउनसम्म कुल ५६ खर्ब ११ अर्ब ५९ करोड ६० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४८ खर्ब ५७ अर्ब १३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत वर्ष साउनसम्म वाणिज्य बैंकहरूले ४९ खर्ब ३९ अर्ब ३२ करोड ८० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४२ खर्ब ९४ अर्ब ७५ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सो कर्जामध्ये आयात निर्यातमा ७७ अर्ब १७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
विकास बैंकहरूले गत साउनसम्म पाँच खर्ब ९८ अर्ब ७४ करोड ७० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी चार खर्ब ९९ अर्ब ४९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । आयात निर्यातका लागि विकास बैंकहरूले कुनै पनि कर्जा प्रवाह गरेका छैनन् । गत आर्थिक वर्षको साउनसम्म पाँच खर्ब ६१ अर्ब ५९ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी चार खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा आयात निर्यातमा कुनै पनि कर्जा दिएका छैनन् ।
फाइनान्स कम्पनीहरूले पनि यस अवधिमा एक खर्ब २९ अर्ब ८९ करोड ३० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी एक खर्ब २९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा आयात निर्यातका लागि कुनै पनि कर्जा प्रवाह गरेका छैनन् । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब १० अर्ब ६७ करोड ८० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ९२ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा आयात निर्यातमा ११ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेका थिए ।