काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
नेपाली समयअनुसार आइतबार राति बसेको संघको बैठकले बाढी प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकले उपाध्यक्ष एवं परोपकार तथा मानव कल्याण विभागका प्रमुख डा हेमराज शर्माको संयोजकत्वमा समिति गठन गरी आर्थिक सहायता संकलन गर्न निर्देशन दिएको छ । समितिमा संघका विभिन्न पदाधिकारीहरू, क्षेत्रीय संयोजकहरू तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरू समेतलाई संलग्न गराइएको छ । बैठकमा अध्यक्ष डा केसीले राष्ट्रिय समन्वय परिषद्हरूको सहकार्यमा आर्थिक सहयोग संकलन गरेर बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने जानकारी दिए ।
यस्तै, बैठकले विपद् प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न उपमहासचिव सोम सापकोटा र सहकोषाध्यक्ष कृष्ण तिमल्सिना संलग्नतामा समिति गठन गरेको छ । समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकमा प्रस्तुत गर्नेछ । यसैबीच बैठकले वर्षाका कारण उत्पन्न विपद्का घटनामा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जलि व्यक्त गर्दै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।