काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)ले एसियन पेन्टस क्यालिडोस्कोप आयोजना गरेको छ । कलेजमा शुक्रबार आयोजित कार्यक्रममा क्यालिडोस्कोप २०२४ का विजेताहरूलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरिएका थियो ।
कलेजको आर्किटेक्ट विभाग र १८औँ ब्याच आर्किटेक्चरद्वारा आयोजित क्यालिडोस्कोप २०२४ प्रतियोगितामा विपास्ना कंशाकार विजयी हुँदै नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगिताको फस्ट रनरअफ सगुन कोइराला भए । उनले २५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । श्रुतिका शाक्य सेकेन्ड रनरअप हुँदै नगद १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल हुँदा अर्का विद्यार्थी आवाज गुरुङले सान्त्वना पुरस्कार प्राप्त गरे । क्यालिडोस्कोपमा आर्किटेक्चरका विद्यार्थीहरूले एक महिना लगाएर विभिन्न डिजाइनहरू गर्ने गर्छन् । ती डिजाइनहरूमध्येबाट निर्णायक कमिटीले उत्कृष्ट डिजाइन छनौट गर्छन् । यो पटकको प्रतिष्पर्धामा कलेजका १८औँ ब्याच आर्किटेक्ट विभागका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
कलेजका आर्किटेक्ट विभागका विभागीय प्रमुख एसोसिएट प्रोफेसर अनिल रेग्मीले आर्किटेक्ट अध्ययन गरिरहेका विद्यार्थीहरूले हासिल गरेका ज्ञान र सीपलाई उजागर गर्न क्यालिडोस्कोप महत्वपूर्ण प्लेटफर्म बनेको बताए । एसियन पेन्टस क्यालिडोस्कोपकी कार्यक्रम संयोजक असिस्टेन्ट प्रोफेसर रुजुला ताम्राकारले कलेजका क्यालिडोस्कोपको १२औँ संस्करण सम्पन्न भएको जानकारी दिँदै कलेजबाट उत्कृष्ट पाँच जना विजयी विद्यार्थीहरूले अब कलेजस्तरीय प्रतिष्पर्धामा भाग लिन जाने बताइन् ।