बैंकक । थाइल्याण्डमा ४४ जना विद्यार्थी र शिक्षक बोकेको विद्यालयको बसमा मंगलबार आगलागी भएको छ । अधिकारीहरुले बसमा सवार २५ जनाको मृत्यु भएको बताएका छन् । यातायातमन्त्री सूर्या जुङरुङराङकिटले प्रारम्भिक प्रतिवेदनअनुसार बसमा ३८ जना विद्यार्थी र छ जना शिक्षकसहित ४४ जना रहेको जानकारी दिए । तीन शिक्षक र १६ जना विद्यार्थीबाहिर निस्किएका थिए ।
उथाइ थानी प्रान्तबाट विद्यार्थी बोकेर हिँडेको बस उत्तरी बैंककको उपनगरको राजमार्गमा पङ्चर भएको र ठोक्किएको एक उद्धारकर्मीले जानकारी गराए । कम्प्रेस्ड ग्यासमा चलिरहेको बस ठोक्किदा इन्धन ट्यांकी जलेर आगलागी हुनपुगेको उनले बताए । बसमा तीनदेखि १५ वर्षसम्मका बालबालिका सवार थिए । बसका चालक भने फरार रहेको र उनको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् ।