काठमाडौं । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त भएकी छन् । २०८१ भदौ ३० गते बसेको बोर्ड बैठकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा डंगोललाई नियुक्त गरेको हो ।
कम्पनीका अनुसार यही असोज १३ गते आयोजित शपथ ग्रहण कार्यक्रममा डंगोलले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक विनोदराज आचार्यबाट शपथ ग्रहण गरिन् । शपथ ग्रहण कार्यक्रमपछि अध्यक्ष डंगोलले खुशी व्यक्त गर्दै, नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको वित्तीय समावेशीकरण र आर्थिक सशक्तीकरणका प्रयासहरूबाट आफू प्रेरित भएको बताइन् ।
उक्त कार्यक्रममा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलको समेत उपस्थिति रहेको थियो । नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । जसअनुरूप एस्ट्रिक ५०० ह्यास डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्छन् ।
रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानीजस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले अफलाइन सेवाहरू प्रयोग गर्न सक्छन् ।