काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले राउतको नाम सर्वसम्मत अनुमोदन गरेको हो । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतले २४ बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए ।
भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गरेको थियो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको असोज १९ गते पदावधि सकिने भएपछि न्यायपरिषद्ले वरिष्ठतम न्यायाधीशमध्येबाट राउतको नाम संवैधानिक परिषद्मा पठाएको थियो । प्रधानन्यायाधीशमा राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
संसदीय सुनुवाइ समितिले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ । यादवले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै राष्ट्रहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।