काठमाडौं । अपदस्थ राजा ज्ञानेन्द्र शाहले बिहीबारदेखि आइतबारसम्म मित्रराष्ट्र भुटानको अर्धराजकीय भ्रमण गर्ने भएका छन् । २०६५ साल जेठ १५ गते नेपालबाट राजतन्त्र समाप्त भई गणतन्त्र घोषणा गरिएपछि पूर्वराजा ज्ञानेन्द्रले कुनै पनि विदेशी मुलुकको सूचना दिएर औपचारिक भ्रमण गर्न लागेको यो नै पहिलो पटक हो ।
यसअघि पूर्वराजा ज्ञानेन्द्रले गुपचुपमा विदेश भ्रमण गर्ने गरेका थिए । तर यस पटक ज्ञानेन्द्रका संवादसचिव डा फणिराज पाठकले गत ११ गते एक सूचना जारी गर्दै भनेका थिए: ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव भुटानको निजी भ्रमणको सिलसिलामा आगामी हप्ता सवारी होइबक्सनेछ ।’
अपदस्थ राजा ज्ञानेन्द्र १७ गते बिहान भुटान जाने र २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । उक्त भ्रमण भुटानी राजा जिग्मे केशर नामग्याल वाङचुकको निमन्त्रणमा हुन लागेको हो । भुटानी राजा जिग्मेले भारतसँग मध्यस्थता गरेर पूर्वराजा ज्ञानेन्द्रको भ्रमणको चाँजोपाँजो मिलाएको बुझिएको छ ।