काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बाढी पहिरोजस्ता विपद्पछि संक्रामक रोग फैलिन नदिन सतर्कता उपाय अपनाउन तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीहरूसँग आग्रह गरेका छन् ।
मन्त्रालयमा विशेष बैठक डाक्दै उनले बाढी पहिरोपछि पानीका स्रोत प्रदूषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेंगुलगायतका संक्रामक रोग लाग्न नदिन आ–आफ्नो तर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोगबारे जानकारी गराउन आग्रह गरे । विपद्का समयमा स्वास्थ्यकर्मीहरूले पु¥याएको योगदानको प्रशंसा गर्दै उनले यसपछि फैलन सक्ने रोगबाट नागरिकलाई जोगाउन लाग्न पनि आग्रह गरे । उनले खानेपानीको शुद्धता बढाउन र कुनै पनि संक्रामक रोग फैलिन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए । यसका लागि मातहतका सबै निकायलाई परेको अप्ठ्यारो फुकाउन मन्त्रालय लाग्ने उनले बताए ।
बैठकमा खानेपानीमन्त्री प्रदीप यादवले पानीको शुद्धता बढाएर नागरिकलाई शुद्ध पानी दिनका लागि शुुद्धीकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने बताए । बैठकमा बाढी पहिरोबाट बढी प्रभावित काभ्रेप्लाञ्चोक, सिन्धुपाल्चोक, कोशी, मधेश तथा गण्डकीलगायत प्रदेशका स्वास्थ्य सचिवहरूले आफूहरूले प्रदान गरिरहेको सेवाबारे जानकारी गराउँदै पानीको शुद्धीकरण तथा सचेतना फैलाउन मन्त्रालयको सहयोग मागेका थिए । मन्त्री पौडेलले दुईवटै मन्त्रालय मिलेर तत्काल सहयोग माग भएका ठाउँमा पठाउने र आवश्यक परेका ठाउँमा विशेष स्वास्थ्य टोली खटाउने प्रतिबद्धता जनाए । उनले संघीय राजधानी उपत्यकामा जनसंख्या पनि बढी रहेको र अहिले संक्रमणको जोखिम बढी रहेकाले बढी प्राथमिकता दिएर संक्रमण रोक्न सचेतनासँगै रोकथामका उपाय अपनाइने बताए । यसका लागि प्रदेश र महानगरहरूसँग हातेमालो गर्ने पनि उनले बताए ।
ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले बाढीका कारण खानेपानी प्रदूषित भएकाले आफूहरूले ट्याङ्करबाट किनेरै क्लोरिनेसन गरेर पानी वितरण गरेको बताए । बैठकमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले मन्त्रीको निर्देशनअनुसार तत्काल बैठक डाकेर आवश्यक ठाउँमा थप स्वास्थ्य सामग्री पठाउने र सचेतना तथा संक्रमण रोक्न नदिन आवश्यक थप कदमहरू चाल्ने प्रतिबद्धता जनाए ।