काठमाडौं । नेपाली विद्यार्थीहरूले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिङ र सेन्जेनमा भएको एसिया प्यासेफिक डिजिटल समिट २०२४ को महत्वपूर्ण पिपल्स चोइस अवार्ड जितेका छन् ।
ह्वावे नेपालको सिड्स फर फ्युचर २०२४ कार्यक्रमअन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै चीन गएको छ जना नेपाली विद्यार्थीको टोलीले सो उपलब्धि हासिल गर्न सफल भएको हो । सयौँ विद्यार्थीहरू मध्यबाट छानिएको समूहमा समीप अर्याल, आशीष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी र समृद्धि कार्की छन् । कार्यक्रममा विश्वभरका युवा प्रतिभाहरूको नवीन सोचलाई बढावा दिँदै कयौँ योजनाहरू समावेश गरिएका छन् । एसिया प्यासेफिक समिटमा १९ मुलुकका सयौँ विद्यार्थीले सहभागिता जनाएका छन् । यसमा नेपाली विद्यार्थीले अल्ट्राकेयर नामक एआई व्यावसायिक उपकरणको प्रस्तुत गरेका थिए ।
नेपाली समूहका सदस्य समीप अर्यालले भने, ‘अल्ट्रा केयर यात्रा सहज अल्ट्रासाउन्ड मेसिन हो जसले ग्रामीण क्षेत्रका महिलाहरूलाई सहज सेवा दिन सक्छ ।’ यो उपकरणले सानोस्तरका स्वास्थ्य संस्थालाई एआई प्रविधिसँग जोड्ने उनले बताए । अर्यालले मेसिनले गर्भमा रहेको शिशु वा गर्भवतीमा कुनै स्वास्थ्य जटिलता आइपरेको खण्डमा सो उपकरणले समयमा नै परीक्षण गर्न सक्ने बताए । अर्यालले भने, ‘यदि कुनै असामान्य परिस्थिति आइपरेको खण्डमा उपकरणले सिधै सम्बन्धित अस्पतालका चिकित्सकलाई जानकारी पठाएर महिलाको ज्यान जोगाउन सकिनेछ ।’ एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिटले नेपाली विद्यार्थीहरूको नविन सोचको ऊर्जालाई उजागर गरेको छ ।