काठमाडौं । माछापुच्छ्रे बैंकले दशैँ अफर सार्वजनिक गरेको छ । बैंकले आफ्नो २४औँ वार्षिकोत्सव तथा आउँदै गरेको नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गरी डिजिटल सेवाहरूमा अफरै अफरहरू सञ्चालनमा ल्याएको हो ।
बैंक असोज १७ गतेबाट २४औँ वर्ष पार गरी २५ औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा डिजिटल सेवाहरूमा विभिन्न क्यासब्याक तथा विशेष छुट अफरहरू ल्याएको हो । जसको फाइदा ग्राहकहरूले बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाजस्तैः मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्डमार्फत लिन सक्नेछन् । बैंकले असोज एकदेखि ३० गतेसम्मको अवधिमा यस बैंकको मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुटको योजना ल्याएको जनाएको छ । जसअन्तर्गत बैंकको डेबिट कार्ड लिने ग्राहकले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट पाउनेछन् ।
यसैगरी बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्षे अवधिका लागि एकमुष्ठ दुई हजार चार सय रुपैयाँ प्रदान गर्नेछ भने मोबाइल बैंकिङ सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । यसै क्रममा बैंकको २४ औँ वार्षिकोत्सव लक्षित यस योजनाअन्तर्गत असोज १६ र १७ गते दुई दिनको अवधिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले विभिन्न मर्चेन्टबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम एक सय २४ रुपैयाँ तथा क्रेडिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम दुई सय २४ रुपैयाँको क्यासब्याक सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।