काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गतका योजनाहरूको प्रतिफल घोषणा भएको छ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित योजनाहरूको कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको आइतबार बसेको सञ्चालक समितिको बैठकले आव २०८०/८१ को मुनाफा तथा सो अवधिसम्म रहेको सञ्चित कोष समेतबाट योजनाको इकाइधनीहरूलाई सिटिजन्स म्युचुअल फन्ड—१ बाट करसहित नौ प्रतिशत नगद लाभांश, सिटिजन्स म्युचुअल फन्ड–२ बाट करसहित छ दशमलव पाँच प्रतिशत नगद लाभांश र सिटिजन्स सुपर ३० म्युचुअल फन्डबाट करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । साथै, उक्त लाभांश वितरण प्रयोजनका लागि मिति २०८१ आश्विन २३ गते एक (१) दिन सिटिजन्स म्युचुअल फन्ड—१, सिटिजन्स म्युचुअल फन्ड—२, सिटिजन्स सुपर ३० म्युचुअल फन्डको इकाईधनी दर्ता किताब बन्द रहने कम्पनीले जानकारी दिएको छ ।
आव २०८०/८१ मा समग्र आर्थिक चुनौतीहरूका बाबजुत पनि सिटिजन्स क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सिटिजन्स म्युचुअल फन्डअन्तर्गतका तीनै वटा योजनाहरूमा लाभांश दिन सक्षम भएको छ । सिटिजन्स क्यापिटलले वित्तीय परामर्श लगानी व्यवस्थापन र म्युचुअल फन्डमा निरन्तर नयाँ आयामहरू थप्दै ग्राहकलाई पूर्णवित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा सीईओ सबिर बादे श्रेष्ठ रहेका छन् । नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरूसँग प्रत्यक्ष सरोकारका कामहरू गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सहलगानी रहेको छ । काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिस्ट्रर कार्यालय रहेको छ ।
काठमाडौंबाहिरका लगानीकर्ताहरूले पुँजीबजारमा प्रत्यक्षरूपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर)को सेवा सिटिजन्स बैंकका देशभरिका सम्पूर्ण शाखा कार्यालयहरूबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरूलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समूहबाट सेवा प्रदान गर्दै आएको छ ।