काठमाडौं । नेपाल र भियतनामबीच व्यापार र लगानी प्रवर्द्धन सम्बन्धमा सहकार्यको समझदारी भएको छ । नेपाल चेम्बर अफ कमर्स र भियतनाम नेपाल फ्रेन्डसिप एसोसिएसनबीच दुईपक्षीय लगानी अभिवृद्धि एवं व्यापार सहजीकरण गर्नेबारे समझदारी भएको हो ।
कृषि, पर्यटन र व्यापारजस्ता प्रमुख क्षेत्रहरूमा सहकार्य बढाउने विषयमा भियतनामका अधिकारीहरूसँग छलफल भएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भियतनामी पर्यटक भित्र्याउन आग्रह गरे । भियतनामका बहुसंख्यक बुद्ध धर्मावलम्बीलाई नेपालको भ्रमण गराएर पर्यटन प्रवर्द्धन गर्नुपर्ने भन्दै अध्यक्ष अग्रवालले यसका लागि सहजीकरण गर्न चेम्बर तयार रहेको बताए ।
कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रमा लगानीका लागि समेत उनले भियतनामका प्रतिनिधिसमक्ष आग्रह गरे । उनले भने, ‘नेपाल लगानीको दृष्टिकोणले उत्कृष्ट गन्तव्य हो, लगानीको प्रतिफल सुनिश्चित गर्न चेम्बर अफ कमर्स प्रतिबद्ध छ ।’