काठमाडौं । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढी पहिरो प्रभावितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ)मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख पाँच रुपैयाँ सहयोग गरेको छ ।
साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा साइमेक्स इंककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठको समेत उपस्थिति थियो ।
केही दिन पहिले आधिकारिकरूपमा फाउन्डेसन स्थापनाको घोषणा गरिएपश्चात यो सीबीसीएफको पहिलो योगदान हो । शिक्षा, स्वास्थ्य सुरक्षा, दिगो विकास र प्रकोप राहतजस्ता पहलमा केन्द्रित भई समुदायमा केही योगदान गर्ने उद्देश्यका साथ फाउन्डेसन निर्माण गरिएको थियो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेर साइमेक्स इंकले यो प्राकृतिक विपत् प्रभावितहरूसँग ऐक्यबद्धता प्रकट गर्न र हाल भइरहेको उद्धार तथा राहत कार्यका लागि आवश्यक सहयोग गरेको जनाएको छ ।