चौतारा (सिन्धुपाल्चोक) । अरनिको राजमार्गको विभिन्न पुल गत साताको अविरल वर्षासँगै आएको बाढीपहिराले क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ ।
भोटेकोशी नदीमा जलसतह बढेकाले तीन दिनदेखि अस्थायी ह्युमपाइप राखेर सडक बनाउन खोजिए पनि कठिनाइ भएको थियो । त्यसैले गत शनिबार साँझ ५ बजे ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याइएको भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिए । ह्युमपाइप राखेर साना सवारी आवतजावत गराए पनि ठूला सवारी भने तत्काल सञ्चालन गर्न नसकिएको उनले बताए ।
ह्युमपाइप राखिएसँगै तातोपानीमा रोकिएका सयौँ साना सवारीसाधन पास गराइएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी गराए । उनका अनुसार लार्चामा ह्युमपाइप राखेर सडक सामान्य अवस्थामा सञ्चालन गरे पनि कोदारीको पहिरो तथा लिपिङ खोलाको पुल राख्न अझै बाँकी छ ।
भोटेकोशी गाउँपालिका–३ का अध्यक्ष निमासोना शेर्पाका अनुसार लार्चामा राखिएको ह्युमपाइप निकै गहिरो स्थानमा राखिएकाले ठूला सवारीहरू आवतजावत गराउन कठिनाइ भएको छ । भोटेकोशी बाढीले बगाएको लार्चा पुल भएको स्थानमा मानव आवतजावतका लागि तुइनसमेत राखिएको छ ।
भोटेकोशी गाउँपालिका–२ लार्चामा रहेको बेलीब्रिज बगाएपछि सीमाक्षेत्र लिपिङका स्थानीय सडक सम्पर्कविहीन भएका थिए । पुल बगेपछि ठप्प बनेको तातोपानी नाकालाई लार्चामा तुइन बनेपछि स्थानीयले आवातजावत गर्न सहज भएको थियो । तुइन असुरक्षित हुने भएपछि सोही ठाउँमा फड्के राखिएको थियो ।
दसैँका लागि चीनबाट फलफूल र लत्ताकपडा बोकेर आएका करिब नौ सयभन्दा बढी कन्टेनरका सामान तातोपानी नाका अवरुद्ध हुँदा चीन र नेपालको भू–भागमा अलपत्र परेको नेपाल ट्रक कन्टेनर मजदुर सङ्घका अध्यक्ष अर्जुन सापकोटाले बताए ।