काठमाडौँ । बडादसैँको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित सोमबार बिहान दक्षिणकाली मन्दिर गई दक्षिणकाली माताको पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गरेका छन् ।
राष्ट्रपति पौडेल मन्दिर पुग्दा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए । काठमाडौँको दक्षिण भेगमा रहेको दक्षिणकाली नगरपालिकामा पर्ने यो मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ ।
सो अवसरमा मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले पीडितलाई राहत तथा मन्दिर क्षेत्रको पुनःनिर्माणमा सहयोगका लागि आग्रह गरे । साथै काठमाडौँ मकवानपुरको सडक छिटो पुनःनिर्माण गरी निर्वाध यातायात सञ्चालन हुनुपर्नेमा जोड दिए ।
बाढी पहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै राष्ट्रपति पौडेलले मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताए ।