बेलायत । फ्रान्सबाट बेलायत जाने प्रयासमा एकै दिनमा नौ सय सय ७३ आप्रवासीहरूले साना डुङ्गामार्फत च्यानल पार गरेका छन् भने यात्राको क्रममा अन्य चार जनाको मृत्यु भएको बेलायतको गृह मन्त्रालयले आइतबार जनाएको छ ।
मन्त्रालयद्वारा शनिबार प्रकाशित तथ्याङ्क यस वर्षको एकैदिनमा च्यानल पार गर्ने आप्रवासीको सबैभन्दा बढी संख्या हो । गैरकानुनी रुपमा बेलायत प्रवेश गर्नका लागि ओभरलोड डुङ्गामा खतरनाक यात्रा गर्दा दुर्घटना भई दुई वर्षीय बालक र तीन वयस्कको मृत्यु भएको हो । यो घटनापछि यस वर्ष च्यानल पार गर्ने प्रयासमा मृत्यु हुने आप्रवासीको संख्या ५१ पुगेको पास–डे–क्यालाइस क्षेत्रका लागि फ्रान्सेली अधिकारी ज्याक बिलान्टले बताए ।
बेलायतको गृह मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२४ मा २६ हजार छ सयभन्दा बढी आप्रवासीहरूले साना डुङ्गामार्फत च्यानल पार गरिसकेका छन् ।
बेलायतका गृहमन्त्री यभेट कुपरले शनिबार गैरकानुनी रुपमा च्यानल पार गर्ने क्रममा धेरै मानिसहरूले ज्यान गुमाइसकेको बताए । ‘आपराधिक तस्करहरुको गिरोहले यस्ता जोखिमपूर्ण यात्रा आयोजना गर्छन्’, उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मानिसहरू बाँच्छन् वा मर्छन् भन्ने कुराले उनीहरुलाई कुनै फरक पर्दैन ।’ रासस/एएफपी