सिरहा, असार २१
लकडाउनबाट प्रभावित सिटी रिक्सा चालकहरुले रिक्सा चलाउन दिन माग गर्दै सिरहाको लहानमा सरकारविरुद्ध विरोध प्रदर्सन गरेका छन् । लकडाउनको कारण रोजगारी गुमाएका सिटी रिक्सा चालकहरुले रिक्सा सञ्चालन गर्न दिन, बैकको कर्जाको व्याज छुट दिन माग गर्दै प्रदर्शन गरेका हुन् ।
नेपालमा लकडाउन भएको तीन महिना वितिसक्दा पनि सरकारले मजदुर तथा श्रमिक वर्गलाई कुनै राहत प्याकेज नल्याएको उनीहरुको आरोप छ । लकडाउनले दिनभर मजदुरी गरेर बिहान बेलुका छाक टार्ने श्रमिक वर्ग सबैभन्दा बढी मारमा परेको रिक्सा चालक शिव कुमार महतोले बताए । नेपालमा लकडाउन खुकुलो भए पनि सिटी रिक्सा श्रमिकहरु मारमा परेको उनको भनाइ छ । तीन महिनादेखि रिक्सा चलाउन नपाउदा परिवारको छाकटार्न गाह्रो भएको महत्तोले बताए ।
रिक्सा किन्दा धेरैले बैंकबाट ऋण लिएको र यति लामो समयसम्म चलाउन नपाउदा बैंकको व्याज तिर्न ठूलो समस्या भएको उनको बताए । सिरहाको लहान नगरभित्र रहेका ९६ जना रिक्सा व्यवसाय गरेर जीविकोपार्जन गर्ने रिक्सा चालकहरु आन्दोलनमा उत्रेका हुन् । उनीहरुले लहानको पुरानो बसपार्कदेखि विरोध -याली सुरु गरी लहान बजार परिक्रमा समेत गरेका थिए । रिक्सा संघको अध्यक्ष मनोज मण्डलको अध्यक्षता भएको कार्यक्रममा ट्रेड युनियन कांग्रेसका जिल्ला सभापति सञ्जय उपाध्ययले रिक्सा व्यवसाय सञ्चालन गर्न दिन माग गरे ।