काठमाडौं । नेपाल जाइका अलमनाई एसोसियसन (जान)ले ललितपुर जिल्लाको गोदावरी नगरपालिका बडा नं. ५ र ६ का बाढीपहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ । जानले जापान नेपाल सोसाइटी, समृद्धिका लागि यथायोग्य कार्य संस्था (आइस्याप) र आफ्ना केही सदस्यहरूको सहयोगमा उक्त राहत सामग्री वितरण गरेको हो । जान र आइस्यापको संयुक्त टिमले स्थानीय नगरपालिकाका सम्बन्धित वडा कार्यालयहरूसँग समन्वय गरी वास्तविक पीडितहरूको घरदैलोमा नै पुगी पीडितहरूको नामावली तयार गरी सो नामावलीको आधारमा राहत सामग्री उपलब्ध गराएको जानका अध्यक्ष डा रामचन्द्र भुसालले बताए । जानले दशैँ शुभकामना आदान प्रदान कार्यक्रम रद्द गरी सो कार्यक्रममा खर्च हुने रकम बाढी पहिरो पीडितहरूको लागि सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।
राहत सामग्री वितरण कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानले गोदावरी नगरपालिकामा लामो समयदेखि सामुदायिक विकासका कार्यक्रम सञ्चालन गर्न र विपद्मा परेका परिवारलाई राहत उपलब्ध गराउन सहयोग गर्दै आएको बताए । त्यस्तै, गोदावरी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष मिलन सिलवालले जानले लेले क्षेत्रको समग्र विकासमा र प्राकृतिक विपद् पर्दा जहिले पनि यस क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने गरेका जानकारी दिए । हाल जापान नेपाल सोसाइटी र आइस्यापको सहयोगमा पाँच वर्षे कृषि प्रवर्द्धन आयोजना सञ्चालन भइरहेको उनको भनाइ थियो । गोदावरी वडा नं ६ का अध्यक्ष विष्णुमान महर्जनले जान, आइस्याप र जापान नेपाल सोसाइटीबाट भएको यस किसिमको राहत वितरण कार्यक्रमले दशैँको मुखमा पीडितहरूको लागि घाउमा मलम लगाउने कार्य भएको बताए । जानले वाढी र पहिरोबाट पीडित ९४ परिवारका लागि करिब चार हजार केजी दैनिक उपभोग गर्ने खाद्यान्न (चामल, दाल, चिनी आदि) वितरण गरेको थियो ।