काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सहभागी टोली लुम्बिनी लायन्स अक्सनमा सबैभन्दा धेरै खर्च गर्ने टिम बनेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबार काठमाडौंस्थित होटल सोल्टीमा आयोजित अक्सनमा लुम्बिनी लायन्सले सबैभन्दा धेरै ८४ लाख ७५ हजार रुपैयाँ खर्च गरेको हो ।
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनी लायन्समा विवेक यादव, सन्दीप जोरा, अर्जुन साउद र सूर्य तामाङजस्ता चर्चित नाम पनि समावेश भएका छन् । लुम्बिनी लायन्सले विवेक यादव, सन्दीप जोरा र सूर्य तामाङलाई खरिद गर्न १५–१५ लाख खर्च गरेको छ भने अन्य खेलाडीहरू; आशुतोष घिरैयालाई १० लाख, तिलकराज भण्डारीलाई १० लाख, दुर्गेश गुप्तालाई आठ लाख, अर्जुन साउदलाई पाँच लाख, दिनेश अधिकारीलाई दुई लाख ७५ हजार, अभिषेक गौतमलाई दुई लाख र विकास अग्रीलाई दुई लाखमा खरिद गरेको छ ।
यस्तै, लुम्बिनी लायन्सले हालै शक्ति गौचनलाई कन्सल्टेन्ट कोच नियुक्त गरेको छ । लुम्बिनी लायन्सका चेयरम्यान ईश्वर जीसीले लुम्बिनी क्रिकेटको शान तथा नेपाली क्रिकेटलाई सधैँ उज्यालो बनाइरहने शक्ति गौचनलाई कन्सल्टेन्ट कोच तथा नेपाली टिमको कप्तानलाई नै मार्की खेलाडीको रूपमा पाउनु नै बुद्धभूमि लुम्बिनीको लागि खुसीको दिन सुरु भएको बताए । लुम्बिनीलाई बुद्ध जन्मभूमिको साथै क्रिकेटको माध्यमले पनि अन्तर्राष्ट्रियरूपमा राम्रो छाप छोड्न कोसिस गर्ने उनले बताए । नेपाल प्रिमियर लिगको अक्सनको सर्ट लिस्टमा कुल एक सय ४२ खेलाडी रहेका थिए । मङ्सिर १६ देखि काठमाडौंमा सुरु हुने नेपाल प्रिमियर लिगमा आठवटा टिम समावेश छन् ।