काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा निर्वाचन आयोगले आर्थिक वर्ष २०८० /०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ । मङ्गलबार आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेको हो ।
सो अवसरमा राष्ट्रपति पौडेलले निर्वाचनकै माध्यमबाट जनताले लोकतान्त्रिक हक अधिकारको प्राप्ति र उपयोग गर्न सक्ने हुँदा यो लोकतन्त्रको सुन्दर र अपरिहार्य पक्ष भएको धारणा व्यक्त गर्दै आवधिक निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवम् स्थायित्वको एउटा आधार भएको बताए ।