काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । दुवै कम्पनीहरूबीच यही असोज २० गते आइतबारका दिन आईपीओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको हो । इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्न लागेको कुल कित्ता २२ लाख ५० हजारको एक सय रुपैयाँका दरले हुन आउने कुल रकम २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्याभूति गर्ने सम्झौता भएको हो ।
गरिमा क्यापिटल लिमिटेडको कमलपोखरीस्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले आइतबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुष १४ मा दर्ता भई २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी लघु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ । गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त मर्चेन्ट बैंकर हो । संस्थाले हाल लगानी व्यवस्थापन सेवा पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस, डिपोजिटरी पार्टीसिपेन्ट तथा धितोपत्र अन्डरराइटिङ सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरीवेक्षक र कोष प्रवर्द्धकको प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फन्डअन्तर्गत विभिन्न बन्दमुखी तथा खुलामुखी योजनाहरू क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडि बढाउने जानकारी समेत गराएको छ ।
गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट सहजीकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरू अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नका लागि अन्य व्यावसायिक साझेदारी सम्झौताहरूमार्फत नवीनतम प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।