घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारको लगानीमा बनेका सार्वजनिक भौतिक संरचना सञ्चालनमा समस्या देखिएको बताएका छन् । मुख्यमन्त्री शाहले सोमबार घोडाघोडीमा बन्दै गरेको धर्मशालाको निरीक्षणका क्रममा सो कुरा बताएका हुन् ।
धार्मिक तथा पर्यटकीय क्षेत्रले महत्वपूर्ण विश्व सिमसार क्षेत्र घोडाघोडीमा ठुलो लगानीमा धर्मशाला निर्माणाधीन अवस्थामा छ । राधाकृष्ण मन्दिर भागवत धर्मसेवा समितिको अगुवाइमा निर्माण हुदैगरेको उक्त धर्मशाला संघ, प्रदेश र स्थानीय सरकारको सहयोग रहेको छ ।
मुख्यमन्त्री शाहले घोडाघोडी ताल क्षेत्रको विकास जति हुनपर्ने हो त्यती हुन नसकेको बताएका छन् । २०७८ सालमा प्रदेश सरकारले चरा अभय आरण्य क्षेत्र घोषणा गरेर यहाँको सिमसार संरक्षणसँगै पर्यटकीय विकास गर्ने लक्ष्य लिएको शाहले बताए ।
समितिका सचिव लक्ष्मीप्रसाद भट्टराईले घोडाघोडी घुम्न र दर्शन गर्न आउनेहरुलाई सर्वसुलभ रुपमा बास बस्नका लागि दुई बर्ष अगाडि स्थानीयको पहलमा धर्मशाला निर्माण शुरु गरिएको जानकारी दिए । प्रदेश सरकारबाट २० लाख अनुदान सहयोगबाट पाँच कोठा सटर निर्माण भएको बताए ।
समितिका अध्यक्ष लक्ष्मीप्रसाद न्यूरेले धर्मशालाको डिपीआर अनुसार राष्ट्रिय योजना आयोगले छुट्याएको बजेटले बन्दै गरेको भवन बाहेक अन्य निर्माणका कार्यमा रकम अपुग हुने भएपछि थप निर्माणका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताए ।