मुग्लिन (चितवन) । मर्मत सम्भारका लागि मनकामना केबलकार यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते तीन दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि तीन दिन बन्द गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार यसअघि विजया दशमीको दिन असोज २६ गते र एकादशीको दिन २७ गते दुई दिन पनि केबलकार बन्द थियो । आज एक दिन भने केबलकार सञ्चालन गरिएको छ । केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउने छ ।
२०५५ साल मङ्सिर ८ गतेदेखि गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको् प्रवेशद्वार ‘बटम स्टेशन’ भने चितवनको इच्छकामना गाउँपालिका ४ चेरेसमा रहेको छ ।