नाइजेरिया । उत्तरी नाइजेरियामा एउटा इन्धन ट्याङ्कर विस्फोट हुँदा एक सय ४० जनाभन्दा बढीको मृत्यु भएको छ भने १० भन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार मंगलबार राति उत्तरी जिगावा राज्यमा ट्याङ्कर दुर्घटनामा परेपछि सडकमा पोखिएको इन्धन संकलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको थियो ।
प्रहरी प्रवक्ता लवान शिसु आदमले माजिया सहरमा एउटा ट्रकसँग ठोक्किनबाट बच्न खोज्दा ट्याङ्कर पल्टिएको जानकारी दिए ।
दुर्घटनापछि स्थानीय बासिन्दाहरू सवारी साधनको वरिपरि भेला भएर सडक र नालीमा पोखिएको इन्धन संकलन गरिरहेका थिए । इन्धन ट्याङ्कर विस्फोटहरू अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको नाइजेरियामा सामान्य हुन् । यहाँ सडकहरू राम्रोसँग मर्मतसम्भार नगरिएको हुन सक्छ र बासिन्दाहरूले प्रायः दुर्घटनापछि इन्धन चोरी गर्ने प्रयास गर्छन् ।
नाइजेरियाले आफ्नो पुस्ताकै सबैभन्दा खराब आर्थिक संकट भोगिरहेको बेला इन्धन अझै बहुमूल्य वस्तु बनेको छ । राष्ट्रपति बोला अहमद टिनुबुले गत वर्ष अनुदान हटाएपछि पेट्रोलको मूल्य पाँच गुणा बढेको छ र प्रायः अभाव हुने गर्छ ।
गत साता सरकारी तेल कम्पनीले एक महिनाभन्दा कम समयमा दोस्रो पटक मूल्यवृद्धि गरेपछि निराशा अझै बढेको छ ।
नाइजेरियामा ट्याङ्करहरू संलग्न दुर्घटनाहरू बारम्बार हुने गर्छन् । संघीय सडक सुरक्षा आयोग (एफआरएससी) ले सन् २०२० मा एक हजार पाँच सय ३१ दुर्घटना अभिलेख गरेको छ, जसमा पाँच सय ३५ जनाको मृत्यु भएको थियो ।
गत महिना उत्तर–पश्चिमी निगर राज्यमा एउटा इन्धन ट्याङ्कर यात्रु र गार्ईवस्तु बोकेको ट्रकसँग ठोक्किँदा कम्तीमा ५९ जनाको मृत्यु भएको थियो । रासस/एएफपी