काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कृषि क्षेत्रको विकासका लागि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रमअन्तर्गत किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ । १० लाख रकमभित्र एक लाख रुपैयाँ बराबरको किसान क्रेडिट कार्ड समेत लिन सकिनेछ ।
कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेरसम्मका नेपाली नागरिक वा कानुनीरूपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधनसहित)अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालू पुँजी दुवै प्रकृतिको हुनेछ । यो कर्जा ग्रेस अवधिसहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने छ । आधार दरमा शून्य दशमलव ५० प्रतिशत प्रिमियम जोडी व्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्नेछ । ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रूपमा रहने छ भने आवश्यकताअनुसार घर÷जग्गा समेत धितो सुरक्षणको रूपमा स्वीकार गर्न सकिने छ । कर्जाको बीमा गरिने छ । बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयहरूबाट किसान सरल कर्जा प्रदान गरिने छ ।
हाल सात वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका दुई सय ९४ वटा शाखा कार्यालय, तीन सय १२ वटा एटीएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउन्टर, क्युआर कोड सेवा, पस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपिस, स्मार्ट क्यु आर टेलर (विना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृतरूपको मोबाइल बैंकिङ (डिजिटल संसार) तथा विना इन्टरनेट चल्ने युएसएसडी मोबाइल बैंकिङका सेवाहरू समेत सञ्चालनमा रहेका छन् ।