काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र दाउन्ने एग्रो फार्म लिमिटेडबीच साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा दाउन्ने एग्रो फार्म लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक विनोद पोखरेल तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार सिटिजन्स क्यापिटलले दाउन्ने एग्रो फार्म लिमिटेडको साधारण सेयर निष्काशनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । दाउन्ने एग्रो फार्म विसं २०७४ सालमा स्थापना भएको नेपालकै सबैभन्दा ठूलो अण्डा उत्पादन गर्ने कम्पनीे हो, जसले जर्मनी र मलेसियाबाट आयात गरिएको पूर्ण स्वचालित वातानुकुलित प्रविधिको प्रयोग गरी कुल चार लाख लेयर्स कुखुराबाट प्रतिदिन १७ सय कार्टुन ‘एन्टिबायोटिक फ्रि’ एवम् गुणस्तरीय अन्डा उत्पादन गरी देशको अधिकांश सहरी, अर्धसहरी, एवं पर्यटकीय क्षेत्रमा बिक्री वितरण गर्दै आइरहेको छ । साथै, कम्पनीले फार्मको सम्पूर्ण गतिविधिहरूलाई अभिलेखीकरण गर्न जर्मनीमा विकसित गरिएको ईआरपी सफ्टवेयर प्रयोगमा ल्याएको छ, जसबाट कम्पनीद्वारा उत्पादित अन्डाको प्रतिइकाई लागत गणना, बिक्री व्यवस्थापन, मौज्दात व्यवस्थापनलगायतका सम्पूर्ण गतिविधिहरूलाई निगरानी राख्ने गरिएको छ । उक्त फार्मले भविष्यमा कुल छ लाख कुखुराबाट प्रतिदिन २६ सय कार्टुन अन्डा उत्पादन गर्ने समेत लक्ष्य राखेको छ । दाउन्ने एग्रो फार्म विनयी त्रिवेणी गाउँपालिका वडा नं. ३, सर्दी, नवलपुर जिल्ला, गण्डकी प्रदेशमा अवस्थित छ ।
सो कम्पनीमा आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडअन्तर्गतको नेपाल अपरच्युनिटी फन्ड–१ को समेत लगानी रहेको छ । सिटिजन्स क्यापिटल लिमिटेडले कम्पनीलाई सेयर निष्काशनसम्बन्धी परामर्श र नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात प्रारम्भिक सेयर निष्काशनको निष्काशन प्रबन्ध गर्नेछ ।