काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका ग्राहकहरूले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैरकोषमा आधारित प्रतीतपत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा महालक्ष्मी विकास बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंकमार्फत उपभोग गर्न सक्नेछन् ।
ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५४ वटा शाखा कार्यालय, तीन सय ८४ वटा एटीएम, दुई सय ५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढी सेवा केन्द्र रहेका छन् ।
बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना समस्त ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । यसैगरी ‘सबल बैंक, सफल सहकार्य’ भन्ने नाराका साथ विसं २०५२ मा स्थापित महालक्ष्मी विकास बैंकले नेपालमा अग्रणी विकास बैंकको रूपमा आफ्नो परिचय बनाएको छ । बैंकले देशभर रहेका आफ्ना एक सय तीन वटा शाखा कार्यालय, ४९ एटीएमका साथ आठ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।