महोत्तरी । चिकित्सक तथा कर्मचारीको हडतालका कारणले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पतालका बिरामीहरु मर्कामा परेका छन् ।
बिहीबार अस्पतालमा कार्यरत करारका कर्मचारीलाई अस्पताल प्रशासनले म्याद थप नभएकाले कामकाज नगर्न सूचना प्रकाशन गरेपछि करारका चिकित्सक तथा कर्मचारीहरुले शुक्रबार कामकाज नगर्दा बिरामीहरु मर्कामा परेका हुन् । करारका कर्मचारीको म्याद नथपिएपछि अस्पतालको कामकाज ठप्प भएको हो ।
साउन महिनादेखि तलब नपाएको भन्दै प्रादेशिक अस्पताल जलेश्वरमा कार्यरत रहेका १५ जना छात्रवृत्ति करारका चिकित्सक तथा कर्मचारीहरु हडतालको तयारीमा थिए । अस्पतालको ओपिडीमा आएका बिरामीहरुलाई चिकित्सकले परीक्षण नगरेपछि बिरामी आक्रोशित भएका छन् ।
बच्चा लिएर आएका, हाडसम्बन्धी, गाइनोसम्बन्धी चेकजाँचका लागि आएका बिरामी चिकित्सकहरु ओपिडीमा नबस्दा निराश देखिएका थिए । आफूलाई असजिलो महसुस गरेका बिरामीहरुले इमर्जेन्सीमा परीक्षण गराएका थिए ।
साउन महिनादेखि आफुहरुले नियुक्ति तथा तलब नपाएको भन्दै हडतालमा उत्रिएका अस्थायी करारका चिकित्सक डा.कृष्णा पंजियारले अस्पताल प्रशासनले कामकाजका लागि म्याद थप्न नसकिने गरी सूचना प्रकाशन गरेपछि आफूहरु अन्योलमा रहेको बताए । उनले ओपिडीमा चेकजाँच नभए पनि इमर्जेन्सी सञ्चालनमा कुनै बाधा नरहेको जानकारी दिए ।