काठमाडौं । रास्वपाका कार्यकर्ताहरुले निषेधित क्षेत्रमा पसेर सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका रवि लामिछानेको समर्थनमा उत्रिए पछि रास्वपा कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शन र नाराबाजी सहित भीड अनियन्त्रित हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो ।
प्रहरीले माइकिङ गर्दै अटेरी गरे थप बल प्रयोग गर्न बाध्य हुने चेतावनी दिएको छ ।
पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सहकारी ठगी मुद्दामा शुक्रबार काठमाडौंबाट पक्राउ गरी सोही दिन राति पोखरा लगिएको थियो ।
सहकारी पीडितहरुले समेत आइतबार लामिछानेलाई अदालतमा उपस्थित गराउने दिन मुस्ताङ चोकमा प्रदर्शन गरिरहेका छन् । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो ।
पानीको फोहोरा र अश्रुग्यास हानेपछि आन्दोलित पक्ष तितरबितर भएका थिए । प्रहरीसँग धकेलाधकेलको स्थिति बनेको हो । यद्यपि रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र अझै छोड्न मानेका छैनन् ।