काठमाडौँ । सात करोडको लागतमा सामाखुसी यातायात प्रालिले १५ वटा बस सञ्चालनमा ल्याएको छ । काठमाडौँ उत्तरी क्षेत्रका नागरिकको सहजताका लागि २०५७ सालमा सेवा प्रदान गर्दै आएको प्रालिले सोमबारदेखि थप १५ बस सञ्चालनमा ल्याएको हो ।
प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको जानकारी दिए । प्रालिका अध्यक्ष सानुकाजी प्रजापति र प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रुपमा बस सेवाको उद्घाटन गरे ।
“काठमाडौँ उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास लिएका छौँ,” उनले भने । काठमाडौँको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस थप गरिएको उनको भनाइ थियो ।
अध्यक्ष प्रजापतिले सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत सेवा प्रदान गरिरहेको जानकारी दिए । उनले सुरुआतमा नौ माइक्रोबसबाट सेवा सञ्चालन गरेको बताए ।
काठमाडौँको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट सो यातायातले सेवा दिँदै आएको प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिए । प्रालिले हाल तीन सय ५० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको उनले बताए ।