नयाँदिल्ली । भारतले सोमबार छिमेकी चीनसँग अत्यन्त विवादित सीमा क्षेत्रहरूमा सैन्य गस्तीका लागि सम्झौता गरेको बताएको छ । यसले सन् २०२० मा दुवै मुलुकका प्रतिद्वन्द्वी सेनाहरू भिडेका बेला उत्पन्न भएका समस्याहरूको समाधान गर्ने लक्ष्य राखेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको एक दिनअघि यो घोषणा आएको छ । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पनि उपस्थिति हुने अपेक्षा गरिएको छ ।
विश्वका दुई सबैभन्दा धेरै जनसंख्या भएका राष्ट्रहरू चीन र भारत गहन प्रतिद्वन्द्वी हुन् र दुवैले नियमितरूपमा एक–अर्कालाई वास्तविक नियन्त्रण रेखा भनिने अनौपचारिक विभाजन रेखा वरिपरि क्षेत्र कब्जा गर्ने प्रयास गरेको आरोप लगाउँदै आएका छन् ।
कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएको सन् २०२० को सीमा झडपपछि दुवै पक्षले दशौँ हजार सैनिक फिर्ता गरेका थिए र वास्तविक नियन्त्रण रेखा भनिने साँघुरो विभाजन पट्टीमा गस्ती नपठाउने सहमति गरेका थिए ।
‘पछिल्ला केही हप्तादेखि भारतीय र चिनियाँ कूटनीतिक र सैन्य वार्ताकारहरू एक–अर्कासँग निकट सम्पर्कमा रहेका छन्’, भारतका विदेश मन्त्रालयका शीर्ष अधिकारी विक्रम मिश्रीले पत्रकारहरूलाई भने, ‘यी छलफलहरूको परिणामस्वरूप भारत–चीन सीमा क्षेत्रहरूमा वास्तविक नियन्त्रण रेखामा गस्ती व्यवस्थाबारे सम्झौता भएको छ । रासस/एएफपी