काठमाडौं । निक्षेप सङ्कलन तीव्र बढ्ने तर कर्जा विस्तार न्यून हुने भएपछि बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् । कर्जाको ब्याजदर पनि एकल बिन्दुमा झरिसकेको छ ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार कर्जाको औसत ब्याजदर साढे नौ प्रतिशतमा झरेको छ । गएको आसारदेखि नै घट्दो क्रममा रहेको कर्जाको ब्याजदर भदौ मसान्तसम्म आइपुग्दा नौ दशमलव ५२ प्रतिशतमा झरेको छ ।
बैंक तथा वित्तीय संस्थामा निक्षेप सङ्कलन उच्च दरमा बढेको तर कर्जा विस्तार सुस्त हुँदा बैंकहरुले ब्याजदर लगातार घटाउँदै लगेका छन् । निक्षेपको ब्याजदर घट्दै गएपछि आधार दर पनि हरेक महिना घट्दै गएको छ । अहिले वाणिज्य बैंकहरुको औसत आधारदर आठ प्रतिशतमा झरेको छ । कर्जाको माग न्यून भएपछि बैंकहरुले प्रिमियम पनि घटाएर ब्याज अफर गरिरहेका छन् । एक वर्षअघि पाँच प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्दै आएका बैंकहरुले अहिले आधारदरमा डेढ दुई प्रतिशत मात्रै जोडेर कर्जा अफर गरिरहेका छन् । यही कारण कर्जाको ब्याजदर सस्तो बन्दै गएको हो ।
२०८० भदौमा कर्जाको औसत ब्याजदर १२ प्रतिशतभन्दा माथि थियो । तर त्यसयता तरलता बढ्दै गएपछि बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् । निक्षेपको ब्याजदर घट्दै जाँदा कर्जाको ब्याजदर पनि घट्छ ।
कात्तिक ४ गतेसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप सङ्कलन ६६ खर्ब ३७ अर्ब रुपैयाँ छ । यस अवधिमा बैंकहरुले ५२ खर्ब ६९ अर्ब कर्जा लगानी गरेका छन् । बैंकहरुले सङ्कलन भएको निक्षेपको ९० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । तर, अहिले ७८ दशमलव शून्य पाँच प्रतिशत मात्रै लगानी भएको छ ।
बैंकहरुसँग अहिले सात खर्ब चार अर्ब रुपैयाँ थप ऋण लगानी गर्न मिल्ने पैसा छ । ठूलो रकम ऋण प्रवाह नभएपछि बैंकहरुले ब्याज लागत घटाउन ब्याजदर घटाउँदै लगेका छन् । ब्याजदर घट्दा ऋण लिनेहरु आकर्षित हुन्छन् र ऋण प्रवाह बढ्छ । तर, अहिले त्यसो हुन सकिरहेको छैन । घरजग्गा क्षेत्र अझै चलायमान बन्न सकेको छैन । उपभोग पनि बढ्न सकोको छैन । यहीकारण कर्जाको माग अझैपनि न्यून छ ।