काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा दुई अर्ब १९ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम संस्थागत निक्षेपको रूपमा बैंक तथा वित्तीय संस्थाहरूमा राख्न प्रस्ताव आह्वान गरेको हो ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले कात्तिक आठ गतेसम्म आफूले लिन चाहेको रकम र दिन चाहेको व्याज तोकेर प्रस्ताव पेस गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले एक सय ८१ दिन अर्थात् २०८१ कात्तिक १४ गतेदेखि २०८२ वैशाख १५ गतेसम्म निक्षेप राख्न लागेको जनाएकोे छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा एक अर्ब ७५ करोड २० लाख, विकास बैंकहरूमा ३२ करोड ८५ लाख र फाइनान्स कम्पनीहरूमा १० करोड ९५ लाख रुपैयाँ निक्षेप राख्न लागेको हो ।
रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम पुँजी कोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरू तोकिएका छन् ।
कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा–व्यवस्थापछिकोमा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरू तोकिएका छन् ।