काठमाडौं, असार २२
नागरिक लगानी कोषको लाभांश वितरणको प्रस्ताव पारित भएको छ । कोषको शनिबार सम्पन्न भएको २५औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । कोषले उक्त सभामार्फत बोनस सेयर वितरणपश्चात् कायम हुुने चुक्ता पुँजीमा एक बराबर ८२ दशमलव ८४ प्रतिशतको अनुुपातमा हकप्रद सेयर जारी गर्ने समेतको प्रस्ताव पारित गरेको छ ।
सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईले कोषको आर्थिक वर्ष २०७५ र ७६ को करपछिको खुद नाफा ४६ करोड २३ लाख रुपैयाँ रहेको जानकारी दिए । उक्त रकमबाट नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४० र ४१ मा भएको व्यवस्थाअनुसार नौ करोड २४ लाख ५७ हजार साधारण जगेडामा राखी बाँकी रकममध्येबाट आव २०७५ र ७६ मा २२ प्रतिशत बोनस सेयर र एक दशमलव १६ प्रतिशत नगद लाभांश छुट्ट्याइएको समेत अध्यक्ष भट्टराईले बताए ।
सो अवसरमा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको कार्यलाई प्रभावकारी बनाउन व्यवस्थापन पक्ष सक्रिय रहेकोमा जोड दिए । कोरोना (कोभिड–१९) लाई ध्यानमा राख्दै कोषले न्यून सेयरधनीको उपस्थितिमा सभा आयोजना गरेको थियो । सो अवसरमा सेयरधनीरुले कोषले नयाँ भवन बनाएकोमा खुशी व्यक्त गरेका थिए ।