काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन झण्डै २६ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार २० दशमलव ४१ अंकले खुम्चिएर २६ सय ४५ दशमलव ३९ बिन्दुमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४५ अंकले ओरालो लागेर चार सय ७७ दशमलव २६ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २४ वटा कम्पनीहरुको ६५ हजार ९१ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ५७ लाख ४२ हजार पाँच सय १४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब २७ करोड ८९ लाख ५१ हजार आठ सय ५३ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स र व्यापार उपसमुहको सचुक उकालो लागेको भएपनि बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक भने ओरालो लागेको छ ।