काठमाडौं, असार २३
बन्द भएको करिब छ महिनापछि रसुवागढी नाकाबाट पुनः आयात सुचारु भएको छ । दैनिक तीनवटा कन्टेनर सामग्री नेपाल आउने गरी दुवै पक्षबीच सहमति भएसँगै सोमबारदेखि रसुवागढी नाका सुचारु भएको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले एकतर्फी रुपमा आयात मात्र हुने गरी नाका सञ्चालनमा आएको बताए । ‘दुवै पक्षबीच भएको सम्झौताअनुरुप तीनवटा कन्टेनर अर्थात् नेपालको छ ट्रक सामग्री चिनियाँ पक्षले मितेरी पुलमा ल्याई छाडिदिनेछन्’, उनले भने, ‘मितेरी पुलसम्म आएको सामग्री नेपाली ट्रक व्यवसायीले नेपालतर्फ ल्याउनेछन् । ट्रक व्यवसायीले ल्याएको सामग्री भन्सार यार्डबाट सामग्रीको जाँचपास हुनेछ ।’
लामो समयदेखि चीनमा अड्केर बस्न पुगेका सामग्रीहरु अहिले ल्याउन लागिएको हो । नाका पुनः सञ्चालनमा आएसँगै नेपालका ठूला आयोजनाहरुको सामग्री चीनमा कोरोना फैलिएदेखि अलपत्र परेको सामग्री ल्याउन लागिएको अधिकृत खड्काले बताए । उनले भने, ‘सोही क्रममा गौतमबुद्ध विमानस्थल, पोखरा विमानस्थल, जलविद्युत् आयोजना तथा सिमेन्ट कम्पनीहरुको ठूला–ठूला सामग्रीहरु चिनियाँ भूभागमा रहेको थियो, सो सामग्री आयात हुन्छ ।’
त्यसैगरी लत्ताकपडा, विद्युतीय सामग्रीहरु समेत ल्याइने भएको छ । कार्यालयले सामग्री लिने जाने व्यवसायीहरुको स्वास्थ्य चेकजाँच गर्ने तथा सुरक्षाको विधिहरु अपनाइने जनाएको छ । यता व्यवसायीहरुले भने सामग्री आयात गर्न नपाउँदा आफूहरुले आर्थिक क्षति व्यहोर्नुपरेको बताएका छन् । सामान्य अवस्थामा सहजै आयातनिर्यात हुन्थ्यो र खर्च कम लाग्ने हुन्थ्यो । तर, अहिले चिनियाँ पक्षले मितेरी पुलमा सामान छाड्ने हुँदा सो सामग्री पुनः लोड गर्नुपर्ने हुन्छ जसले गर्दा खर्च ज्यादा लाग्ने उनीहरुको भनाइ छ ।
कोभिड १९ को कारण माघ १५ देखि रसुवा नाका सञ्चालनमा आउनसकेको थिएन भने त्यसपछि ल्होसारको विदा, पहिरोलगायतका कारण चिनियाँ भूमिमै नेपालमा आउनुपर्ने सामग्री रोकिन पुगेको थियो । कोभिड १९ कै कारण पहिला चिनियाँ पक्षले नाका बन्द गरेको थियो भने त्यसपछि भने नेपाली पक्ष, प्रहरी प्रशासन र व्यवसायीहरु सामग्री लिन जान नसकेको कार्यालयले जनाएको छ ।
यसैबीच भन्सार कार्यालयले यस आर्थिक वर्षको राजस्व लक्ष्य प्राप्त नहुने बताएको छ । यस वर्षको राजस्व लक्ष्य नौ अर्ब ३५ करोड रुपैयाँ रहेको अधिकृत खड्काले बताए । उनले भने, ‘बन्दअघि सात अर्ब ६८ करोड रुपैयाँ अर्थात् करिब ८५ प्रतिशत राजस्व उठाउन हामी सफल भएका छौँ बाँकी १५ प्रतिशत राजस्व उठाउन अब सम्भव छैन ।’ कार्यालयका अनुसार ढिलो गरी नाका सञ्चालन हुनु र चालू आव सकिन करिब एक हप्ताको समय बाँकी रहेकोले लक्ष्य प्राप्त गर्न सम्भव नदेखिएको बताएको छ ।