काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको संविधानको अनुसूचीमा भएको चुच्चे नक्सा अङ्कित एक सय रुपैयाँ दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । बोलपत्रमार्फत कम मूल्य प्रस्ताव गर्ने ‘चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’ले नोट छाप्ने जिम्मा पाएको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले एक सय रुपैयाँ दरका ३० करोड थान नोट छाप्न चिनियाँ कम्पनीलाई छनोट गरेको हो । गत वैशाख २० गते बसेको मन्त्रिपरिषद्को बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सासहितको फोटो राख्ने निर्णय गरेको थियो । सो कम्पनीले एक सय रुपैयाँको नोट छापेपछि आपूर्ति तथा डेलिभरी पनि गर्नेछ । अहिलेसम्म पहिलो चरणको काम सकिएको छ भने सम्झौता हुन बाँकी छ ।
राष्ट्र बैंकले एक सय रुपैयाँ दरको नोटमा पहिला पनि नेपालका नक्सा रहेको र अब सरकारको निर्णयअनुसार संशोधन गर्न लागिएको जनाएको छ । एक सयको नोटमा नेपालको नक्सा स्पष्ट भने देखिँदैन । नोटको डिजाइन पुरानै जस्तो हुने राष्ट्र बैंकले जनाएको छ ।