काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा दुई दिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ । प्रभु क्यापिटलले आयोजना गरेकोे उक्त कार्यक्रम धनुषा जिल्लामा रहेको मिथिला प्राविधिक कलेज, बिशहरा चौक र मोनास्टिक कलेज, भानु चौकमा अध्ययनरत विद्यार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरूलाई यही कात्तिक आठ गते बिहीबार तथा यही कात्तिक नौ गते शुक्रबारका दिन सम्पन्न गरेको हो ।
दुई कलेजमा करिब ९० जना विद्यार्थी, शिक्षक, व्यवसाही तथा अन्य पेशागत कर्मचारीहरूको सहभागिता भएको उक्त कार्यक्रमको प्रशिक्षकका रूपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए । उक्त कार्यक्रममा पुँजी बजारमा लगानीको प्रतिफल तथा जोखिम व्यवस्थापनसम्बन्धी आधारभूत तथा प्राविधिक विश्लेषण, सेयर बजारमा लगानी गर्नुपूर्व ध्यान दिनुपर्ने कुराहरू, बजारमा उपलब्ध लगानीका उपकरणहरू तथा लगानी विविधीकरणजस्ता विषयमा प्रकाश पारेका थिए । साथै, लगानी गर्दा प्रविधि र डिजिटल सेवाको प्रयोग—आस्वा, सिआस्वा, मेरो सेयर एपको तथा आईपीओ भर्दा पु¥याउनुपर्ने सजगताका बारेमा प्रकाश पारेका थिए । साथै, पोर्टफोलियो व्यवस्थापन, सामूहिक लगानी कोषको लगानीमा हुने फाइदा तथा जोखिमसम्बन्धी विषयहरू पनि समेटेका थिए ।
कार्यक्रमका सहभागी सदस्यहरूले विश्व लगानीकर्ता सप्ताह–२०२४ कोे अवसरमा यस प्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण र प्रविधि र डिजिटल सेवाको प्रयोगजस्ता विषयमा विस्तृत ढंगले प्रकाश पारेको हुनाले उक्त तालिम ज्यादै उपयोगी रहेको तथा सेयर बजारसम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।
प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रमहरू, विविध वर्कशप तथा सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।