काठमाडौं । अपि पावर कम्पनीले चार सहायक कम्पनीमा लगानी गर्ने भएको छ । अपि पावर कम्पनीको साधारण आइतबार सम्पन्न साधारणसभाले सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा शत प्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने प्रस्ताव पारित गरेको हो ।
अपि पावरको बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गर्ने न्वागाड साना जलविद्युत् आयोजना नौ दशमलव सात मेगावाट निर्माण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । यस्तै, कम्पनीले सुदूरपश्चिम प्रदेशमा रहेको दार्चुला पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत् आयोजना २८ दशमलव तीन मेवा निर्माण गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन गराएको छ ।
यसबाहेक अपिको बहुमत लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत् आयोजना ११ मेवाको निर्माण अन्तिम चरणमा रहेको र उक्त लगानी अनुमोदन गर्ने प्रस्ताव सभाले अनुमोदन गरिसकेको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको कम्पनीले जनाएको छ । साथै, कम्पनीले ललितपुरको झम्सिखेलमा अवस्थित ४३ इकाईसहितको नौ तले आवासीय भवन बनाउन कार्य अगाडि बढाइसकेको जनाएको छ । यसबाहेक सभाले लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण पनि गरेको छ ।
सभाले सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, कम्पनीको आर्थिक वर्ष २०८०/०८१ सम्मको जगेडा कोष तथा सेयर प्रिमियमबाट प्राप्त मुनाफाबाट पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनको शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, यस अगाडि घोषणा भएको नौ दशमलव ५१ प्रतिशतबाट बाँकी रहेको चार दशमलव २५ प्रतिशतले हुने रकम कम्पनीको जगेडा कोष कायम रहने पनि कम्पनीका अध्यक्ष सिर्जना खड्काले सभालाई जानकारी गराएकी थिइन् ।
यस्तै, कम्पनीले सर्वसाधारण सेयरधनीबाट तीन जना सञ्चालकमा मधुसुदन कोइराला, सञ्जीव न्यौपाने र दुवारिका न्यौपाने नियुक्त गरेको छ । महिला सञ्चालकमा सिर्जना खड्का नियुक्त भएकी छन् । कम्पनीले सभा प्रयोजनका लागि कम्पनीको कात्तिक दुई गते एक दिनका लागि सेयरको दर्ता किताब बन्द गरेको थियो । कात्तिक एक गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्नेछन् ।