वासिंङ्टन । अमेरिकामा चुनाव हुनुभन्खा सात दिनअघि दुई ठाउँमा मतपेटिका आगजनीको घटना भएकोे छ । पहिलो वासिंङ्टनको केस भ्यानकुभरमा रहेको मतपेटिकामा आगो लागेको थियो । त्यसमा जम्मा भएका सयौँ मतपत्रहरु जलेर खरानी भएका छन् ।
मतपेटिका जलाउने दोस्रो घटना ओरेगनको पोर्टल्यान्डमा भएको छ । आगलागी कसरी भयो भन्ने मंगलबार साँझसम्म थाहा हुन सकेको छैन । निर्वाचन अधिकारीहरूले सीसीटीभी फुटेजमार्फत आगजनी गर्ने व्यक्तिको खोजी गरिरहेका छन् ।
सीएनएनका अनुसार पोर्टल्यान्डमा सोमबार बिहान साढे तीन बजे एउटा मतपेटिकामा आगो लागेको थियो । तर, अधिकांश मतपत्र जल्नबाट जोगिएको छ । तीनवटा मतपत्र मात्र जलेका छन् । निर्वाचन अधिकृत टिम स्कटले मतपत्र जलेका मतदाताहरुलाई सम्पर्क गरी नयाँ मतपत्र दिने बताए ।
उही समयमा, भ्यानकुभरमा जलेको मतपेटिकामा सयौँ मतपत्रहरू जलेका छन् । भ्यानकुभरको निर्वाचन निर्देशनालयका प्रवक्ता लौरा शेपर्डले शनिबार बिहान ११ बजेपछि यस बाकसमा मत हाल्ने सबैलाई आफ्नो मतपत्र प्रमाणित गर्न अनुरोध गरेकी छिन् ।