काठमाडौं । नेपाली र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी भएको छ । नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एन्ड कमर्ससँग सम्बन्धित उद्योगी व्यवसायीबीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको हो ।
चेम्बर अध्यक्ष कमलेस कुमार अग्रवालसहितका पदाधिकारीसमक्ष युनान प्रान्तमा विभिन्न व्यावसायिक क्षेत्रको नेतृत्व गर्दै आएका उद्यमी व्यवसायीहरूले लगानी र व्यापार सहजीकरणबारे छलफल गरेका थिए । खासगरी उद्योग, व्यापार र सेवा क्षेत्रमा सम्भाव्य लगानीका क्षेत्रहरूको पहिचान र दुई पक्षीय हित प्रवद्र्धन गर्न सकिने खालको प्रस्ताव ल्याउन अध्यक्ष अग्रवालले चिनियाँ व्यवसायीसँग आग्रह गरे । पूर्वाधार निर्माण, रियल स्टेट, व्यापार वृद्धि, चिया, औद्योगिक विकास एवं सांस्कृतिक क्षेत्रमा दुई पक्षीय लगानी र व्यापार साझेदारीका विभिन्न विकल्पबारे दुई देशका निजी क्षेत्रबीच महत्वपूर्ण छलफल भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चेम्बर अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि पनि चिनियाँ व्यवसायीलाई आग्रह गरेका थिए । नेपालमा लगानीको वातावरण एवं प्रतिफल सुनिश्चितताका लागि चेम्बरले पहल गर्ने समेत उनले प्रतिबद्धता जनाए । यसका लागि बीटुबी भ्रमण र सहकार्यलाई बढाउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।
नेपालमा राजनीतिक स्थिरता, कानूनी पाटोमा सुधार हुँदै गएकाले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको समेत उनले लगानीकर्ताहरूलाई अवगत गराएका थिए । नेपाल र चीन दुवै मुलुकले लगानी र व्यापारिक साझेदारीमार्फत आर्थिक फाइदा लिन सक्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । नेपाल भ्रमणका लागि समेत उनले चिनियाँ उद्यमी व्यवसायीलाई आग्रह गरे ।