काठमाडौं । राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि दिवस एवं सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट गरेका छन् ।
उनले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने सम्भावना बोकेको संस्था अहिले आफैँ थला पर्नु सोचनीय विषय भएको बताए । सरकारद्वारा सञ्चालित उद्योग कलकारखाना घाटामा जानाका कारण उल्लेख गर्दै उनले वैद्यखानालाई धराशयी पर्न नदिन सामूहिक पहलको आवश्यकता औँल्याए । “आयुर्वेदिक उपचार पद्धति हाम्रो संस्कार र संस्कृति हो, जसरी हामीले सनातन धर्मलाई मान्छौँ त्यसरी नै मान्दै आएको विषय हो”, उनले भने ।
“अहिले देश किन र कसरी डुब्यो, समस्या के हो भन्ने हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ”, प्रमुख शाहले भने, “९० प्रतिशत सरकारी उद्योग कि त भाडामा दिइन्छ, भाडामा दिन सकिएन भने निजी संस्थाको प्रभाव र दबाबमा आएर त्यसलाई डुबाइन्छ ।”
आफू वैद्यखाना परिसरमा हुर्केको आफ्नो बाल्यकालको स्मरण गर्दै नगरप्रमुख साहले यस संस्थाकोे व्यवस्थित सञ्चालन र विकासका लागि सरोकारवाला सबैको ध्यानाकर्षण गराए । “पहिले यही ठाउँमा धेरै स्थान खाली थियो, औषधि उत्पादन धेरै हुन्थ्यो, अहिले जताततै भवन छन्, औषधि उत्पादन चाहिँ कम छ”, उनले भने, “२०५८/५९ सालमा यहाँको बजेट पाँच करोड थियो, अहिले एक करोड छ ।”