काठमाडौं । नेपाल संवत् ११४५ मूल समारोह समितिले नेपाल संवत्को मौलिकता एवं महत्वलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न कूटनीतिक नियोगलाई आह्वान गरेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने नेपाल संवत्लाई प्रचारप्रसारलगायत कार्य गर्न समितिले विदेशस्थित नियोगलाई आग्रह गरेको हो ।
समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाल संवत्को मौलिकता एवं महत्वलाई संरक्षण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न सबै नियोगलाई अनुरोध गरिएको जानकारी दिए । उनले नेवार समुदायले देशभर विविध कार्यक्रम गरी नयाँ वर्षका रूपमा मनाउने संवत् नेपालबाट सुरु भएकाले प्रयोगलाई व्यापकरूपमा विस्तार गर्नुपर्नेमा जोड दिए । समितिले यही कात्तिक १७ गते वसन्तपुरमा आयोजना गर्ने मूल समारोहमा सहभागी हुन मातहतका सम्बन्धित संघसंस्थालाई आफ्नो स्थानबाट परम्परागत बाजा, झाँकी र सांस्कृतिक पहिरनसहित मूल समारोहमा सहभागी हुन निर्देशन दिएको छ ।