काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडले लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीका अनुसार ‘विश्व लगानीकर्ता सप्ताह, २०२४’ को अवसर लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम अमरगडी ५, डडेल्धुरामा सम्पन्न गरिएको हो ।
कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले डिम्याट खाता, प्राथमिक सेयर, धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरणहरू, सामूहिक लगानी कोष, दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानीसम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरूलगायत समग्र पुँजीबजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराई सोही सम्बन्धमा छलफल तथा अन्तक्र्रिया गरिएको थियो । सोही कार्यक्रममा सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अधिकारी किशोर भट्टले समेत सीडीएस एन्ड क्लियरिङ लिमिटेडले उपलब्ध गराइरहेको सेवाहरू र उक्त सेवा के–कसरी सुरक्षितरूपमा लिन सकिन्छ भन्नेलगायत पछिल्लो समय कारोबार भएका सेयर राफसाफ गर्दा आएको समस्याहरूको सम्बन्धमा जानकारी तथा छलफल गरिएको थियो ।
साथै, उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा बिहान ११ः४५ बजेदेखि दिनको १ः१५ बजेसम्म विद्यार्थीहरूको लागि गरिएको र सो कार्यक्रममा ५५ जनाभन्दा बढी युवा विद्यार्थीहरूको सहभागिता रहेको थियो । दोस्रो चरणमा दिनको ३ः०० बजेदेखि ४ः४५ बजेसम्म विभिन्न पेसामा आबद्ध व्यक्तित्वहरू र सर्वसाधारणहरूको लागि गरिएकोमा उक्त कार्यक्रममा ७५ जनाभन्दा बढीको सहभागिता रहेको थियो ।